काठमाडौँ । केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा गर्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी छ रनमा आउट भए । आरिफ शेख चार रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे ।
केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई/दुई विकेट लिए भने इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।
पटेलले अविजित रहँदै ७३ रन बनाए । यस्तै ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदीप सिंहले आठ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले एक/एक विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।
यसअघिको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ ।