‘तीजको मौलिकता जोगाऔँ’



रामपुर (पाल्पा) ।
‘दुःखसुख, विरह र वेदना यही तीजे भाकामा गाउन बरिलै, मीठो पिठो जे दिन्छन् दाइभाइले अमृतै मानेर खाम्न बरिलै’ । गायिका हरिदेवी कोइरालाको यो गीतले तीजको मौलिकता बोलेको छ । समाजको यथार्थ कुरालाई गीतमार्फत प्रस्तुत गरेकोे छ । तीजको मौलिक संस्कृतिलाई गीतमार्फत व्यक्त गरिए पनि अहिले भने पर्व मनाउने निहुँमा मौलिकता नै हराउँदै गएको पाइएको बताउछन्, स्थानीय भगवतीदेवी खनाल । खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुँदै गएको उनको गुनासो छ ।

“पहिला घरको आँगन र मझेरीमा बसेर दरखाने, नाच्ने गाउँने चलन थियो, तीजको दिन बजारमा झोरा लाइन्थ्यो, अहिले तीजको झोरा देख्नै पाइदैन” उनी भन्छन्, “नारीका दुःखसुख र बेदनालाई बोल्ने पर्व हरितालिका तीजलाई लिइन्छ । वर्षदिनभर मनमा सङ्गालेका पिर, बेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तीजका बेलामा व्यक्त गर्ने, राम्रा–राम्रा पहिरन मीठामीठा परिकार खाने प्रचलनका रुपमा तीजलाई लिने गरिन्थ्यो ।”


पछिल्ला वर्षमा तीज आउनु महिना दिन अघिदेखि नै गाउँ, सहरमा रौनक बढ्दो छ, तर तीजको मौलिकता भने हराउँदै गएको छ । तीजमा विकृति मौलाउँदै गएको पाइएको छ । नागपञ्चमी पर्व सुरु भएपछि गाउँमा पालैपालो सबैका घर घरमा साँझमा झोरा लगाउने चलन थिए । गाउँ, सहर, गल्ली चोक, घरघरमा विरह, ठट्यौली, सुखदुःखका गीत गुञ्जन्थे ।

‘छोरी किन काली भई भन्नुहुन्छ, बबाले
रामपुरको कामले चर्को घामले,
कहिल्यै नतुरिने लामो कुलो खनेर
रामपुरमा छोरी दिन्छन् सुख भनेर,
रामपुरमा छोरीलाई आलीकान्लो गर्नलाई
घ्यु खुवाउनु है आमाले बल ल्याउनलाई,
सानो–सानो गाईको बाच्छी कालीगङ्गा नतारे,
मलाई जस्तो कर्रो घर बहिनी नपारे ।

तीजका यस्ता गीतले महिलाले सासू ÷ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त हुन्थे र ती गीत सुनिरहुँ जस्तो लाग्थ्यो । अहिले त्यस्ता खालका गीत कमै सुन्न पाइन्छ ।नेपाली नारीको महान् चाड तीजको मौलिकपन दिन प्रतिदिन खस्किँदै जाँदा नयाँ पुस्तामा आगामी दिनमा तीजको महत्व कतै एकादेशको कथाजस्तो त हुने होकी भन्ने चिन्ता गर्नुहुन्छ, कला ढकाल । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ । तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृित बचाउन अघि बढ्नुपर्ने उनको तर्क छ ।
कला भन्छन्, “सानो छँदा आमासँग टुकी बत्ती, लालटिन बालेर साँझमा गाउँमा तीजको झोरा हेर्न गइन्थ्यो, त्यतिबेलाका गाइएका ‘बेतको लौरी डमके पाइला बाहिर हेर को आयो, डबलु जुक्ता चुइकने छाता बाहिर मेरो भाइ आयो’ यस्ता गीत अहिले पनि झलझली याद आउँछ, पहिले जसरी नै गाउने मन छ तर अहिले त्यस बेलाजस्तो गाउँने नाच्ने वातावरण समाजमा छैन” ।

हिजोआज तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ । केहीवर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृति अनुसारको नेपाली मौलिकपन नहुँदा पूराना पुस्ता चिन्तित बनेका छन् ।

समयको परिवर्तन, गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेसँगै तीज संस्कृतिको पुरानो मौलिकता नै हराउँदै गएको बताउनुहुन्छ, शहीद बहुमुखी क्याम्पसका प्रध्यापक गीता देवकोटा । “तीजलाई नारी अधिकार र स्वतन्त्रताको रुपमा लिइने गरिन्छ, पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ, पहिला महिलाले भोगेका दुःखकष्ट अहिलेको परिस्थितिमा कमै छ, सुख सुविधाले गर्दा केही कुरा परिमार्जन भएको छ, पुरानो संस्कृतिलाई संरक्षण गरिनुपर्छ, समाजमा तडकभडक नहुने गरी नयाँ कुराको पनि अबलम्वन गर्दै तीज मनाउनुपर्छ” प्रध्यापक देवकोटाले भने ।

‘यसपालीको तीजमा जाने हो म माइत,
बजार गर्न जान्छु स्वामी पैसा दिनुस् त ।
चुरा डोरी टीका शिरफूल र तिलहरी
भन्नुभो स्वामीले ल्याउँ त पियारी ।’
गायिका लक्ष्मी न्यौपानेले गाएको गीत सुन्दा तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरु छन् भन्ने बुझाइ हुन्थ्यो । कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा–मीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदिबहिनीसँगै बसेर खान र नाच्न पाइने उत्सुकता हुन्थ्यो । अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने छैन । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था छैन ।
‘भररर रानीचरी एँेसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा’ घरको कामधन्दा, तीजमा बिदा नपाउँदा पीडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ । पहिला पहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।

केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिकस्वरुप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र बाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ ।