ताइवानबाट पलोसी फर्किएसँगै चीनद्वारा सैन्य अभ्यासको घोषणा



अमेरिकी सभामुख न्यान्सी पलोसी ताइवानबाट फर्किएकी छन् । २५ वर्षमा ताइवान भ्रमण गरेकी वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन् ।


ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ । बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, ‘आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।’

अमेरिकाले आफ्नो ताइवान नीतिबारे कूटनीतिक कदम चालेको छ । एकातिर यस देशले एक चीन नीतिको समर्थन गर्छ जसले चिनियाँ सरकारलाई मान्यता दिन्छ र यसले ताइवानसँग नभई बेइजिङसँगको सम्बन्धलाई औपचारिक बनाउँछ । यद्यपि, अमेरिकाले ताइवानसँग बलियो अनौपचारिक सम्बन्ध कायम गर्छ जसअन्तर्गत ताइवानलाई प्रतिरक्षाका खातिर हतियार बेच्न सक्छ ।

अमेरिकी संसद्को सभामुख रहेकी पलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप–राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो बरीयताकी व्यक्ति हुन् । उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ ।

बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा “लामो दूरीको प्रत्यक्ष गोलाबारी“ समेत हुनेछ । एक अमेरिकी अधिकारीले बुधवार रोएटर्स समाचार संस्थालाई बेइजिङले यस भ्रमणलाई तनाव बढाउनका निम्ति प्रयोग गर्न सक्ने बताएका छन् ।

चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन् । त्यहाँकी राष्ट्रपति साइ यिङ वूनले ताइवानले जानाजान बढाइएका सैन्य खतराहरूको सामना गरिरहेको बताएकी छन् । र, ताइवान पछि नहट्ने र आफ्नो आत्मरक्षा क्षमताहरू बलियो बनाउन जे पनि गर्ने जनाएकी छन्।