टोखा नगरभित्रका तार व्यवस्थित गरिने



काठमाडाैँ । टोखा नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत तार व्यवस्थित गर्ने भएको छ । नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायक कम्पनीसँग बसेको बैठकमा पुराना तार हटाउने र व्यवस्थित गरेर राख्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले नगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थित गर्नका लागि नगरपालिकाले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय गरेको जानकारी दिए । टोखा नगरपालिकाभित्र रहेका सेवा प्रदायक कम्पनी अब अनिवार्यरुपमा नगरपालिकामा दर्ता हुनुपर्ने भएको छ । सुरुको चरणमा सामाखुसी चोकदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसम्मको मुख्य सडकमा रहेको तार व्यवस्थित गरिने प्रमुख प्रशासकीय अधिकृत पाठकले बताए ।


नगरपालिकाभित्र दर्ता नहुने वा अव्यवस्थितरुपमा तार छोड्ने कम्पनीलाई भने नगरपालिकाले कारबाही गर्ने जनाएको छ । नगरपालिका भित्रको तारलाई व्यवस्थित गर्न टोखाले सबै वडाको वडाध्यक्ष संयोजक र सम्बन्धित सेवा प्रदायक कम्पनीका प्रतिनिधि सदस्य रहनेगरी समितिसमेत गठन गरेको छ । उक्त समितिले आफ्नो वडाभित्र रहेका अव्यवस्थित तारको अध्ययन गरी त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।