जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुँदैनः घिसिङ



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् ।

बुधबार संसदको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए ।


निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने,वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने हुँदा विद्युत महँगो हुने बताए ।

उनले नेपालको उर्जाको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए ।

घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताए । उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने बताए । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए ।

घिसिङले ५० अर्बको तनहँु जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताए ।

उनले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताए । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने बताए ।