घनश्याम भूसालको प्रस्ताव : ‘वाममोर्चा बनाऔं १५० सिट जितिन्छ’



काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले एकपटक फेरि वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा भुसालले पेश गरेको चार पृष्ठ लामो प्रस्तावमा नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने भन्दै माओवादी वा नेकपा एकीकृत समाजवादी त्यो सम्भव नहुने तर्क गरेका छन् । उनले अझै पनि वामपन्थी दलहरू एकजुट भएर जनताबीच स्वेतपत्र जारी गरेर जाने हो भने दुईतिहाइ बहुमत प्राप्त हुने दाबी गरेका छन् ।


भुसालको प्रस्तावमा भनिएको छ,‘फेरि निर्वाचन आउँदै छ। स्थानीयको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ। त्यसको अर्थ संसदमा दुईतिहाइभन्दा बढी हो। वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ।’