गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी



काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले दाङको घोराही उपमहानगरपालिका–१२ स्थित कुलवीर बुढाको घरमा चट्याङ पर्दा घाइते भएकाको अवस्थाबारे जानकारी लिएका छन् । उनले आज दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्लाका प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन भनेकाे गृहमन्त्रीको सचिवालयले जनाएको छ । चट्याङ लागेर १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिषा शाहको मृत्यु भएको दाङका प्रहरी उपरीक्षक ओलीले जानकारी दिएका छन् ।


चट्याङ लागेर नौ जना घाइते भएकामा पाँच जनाको सामान्य र अन्यको अवस्था मध्यम रहेको पनि उनले जानकारी दिए । घाइते हुनेमा १५ वर्षीय निरुता शाह, जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था मध्यम रहेको जनाइएको छ ।

घटना सडकमार्गविहीन विकट क्षेत्रमा भएको जनाइएको छ । त्यस्तै घटनामा १४ वर्षीय अञ्जना घर्ती, ३८ वर्षीय बेलकुमारी घर्ती १५ वर्षकी सावित्रा वली, ४२ वर्षकी मनकुमारी वली र ४ वर्षीया जेनिशा शाह सामान्य घाइते भएका जनाइएको छ । उहाँहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।