गाईवस्तुलाई घाँस र स्याउला लिन भारत



दोधारा चाँदनी । नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र  रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न, गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका–९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उाी मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्छिन् । “दोधारामा स्याउला पाइँदैन गाईभैँसी र बाख्राका लागि घाँस र स्याउला लिन भारतको कलौना भन्ने ठाउँमा जाने गर्छौँ”, उनले भनिन्, “उताका ९भारतका० मानिस एकदम सहयोगी छन् मैले धेरै वर्ष भयो त्यहाँ जाने गरेको ।”


सीमानाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ । उनका अनुसार दोधाराका थुप्रै मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । यहाँका  महिला करिब तीन किलोमिटरको बाटो हिँडेर भारतीय बस्ती कलौना पुग्ने गरेको स्थानीय रञ्जु रावतले जानकारी दिइन् । “रोजगारी केही छैन बाख्रापालन गरेकी छु, बाख्राको आहारका लागि मेलापात जान्छु”, उनले भनिन्, “यहाँ बाख्राका लागि स्याउला पाइँदैन हामी त सधैँ उतैबाट ल्याउँछौँ ।”

दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आएका  टेकबहादुर सुनारले अहिलेसम्म यहाँ दुई देशबीचका नागरिकबीच वैमनस्यताका घटना नभएको बताउँछन् । उनका अनुसार यहाँका बासिन्दाको नेपालसँग सम्र्पक कम नै थियो । विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्र्पक जोडिएको हो । “मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ”, उनले भने, “हामीले पनि बोलाउँछौं उहाँहरूले पनि बोलाउनुहुन्छ ।” उनले यहाँका बासिन्दा सीमाका प्रहरेदार भएको बताए ।

स्थानीय वसन्ती सुनारले दुई देशका नागरिकको भन्दा पनि भाइचारको सम्बन्ध रहेको सुनाए । “हाम्रो सम्बन्ध एकदमै राम्रो छ  कहिले उहाँहरू सहयोग माग्न यहाँ आउँछन्, कहिले हामी सहयोग माग्न त्यहाँ पुग्छौँ”, उनले भने, “सीमावर्ती भारतीय नागरिकसँग सदियौँदेखि भाइचाराको सम्बन्ध छ ।” महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको श्रोत नै कृषि व्यवसाय रहेको छ ।