गण्डकी र प्रदेश एकलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम नगर्न आयोगको पाँच बुँदे स्पष्टीकरण



काठमाडौं । निर्वाचन घोषणा भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न खोजेपछि निर्वाचन आयोगले प्रदेश एक र गण्डकी प्रदेश सभालाई स्पष्टीकरण सोधेको छ।

तत्काल उक्त कार्यक्रम सञ्चालन नगर्न आयोगले तीन बुँदे निर्देशन दिएको छ भने ५ बुँदे स्पष्टीकरण पनि सोधेको छ । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य पदको निर्वाचन मिति तोकिसकेको छ।


यस अवस्थामा प्रदेशसभाको कार्यकाल सकिन लागेका बेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत् बजेट दिन एवं कार्यविधि बनाएर सांसदलाई योजना छनौट गर्न लगाइएको र योजना बाँड्ने तयारीबारे आयोगलाई जानकारी प्राप्त भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनका प्रक्रियाहरु सुरु भइसकेको छ। यो अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्नेगरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न सकिँदैन । अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामै प्रश्न उठाउनसक्ने देखिन्छ।’