गठबन्धन सरकारले उही मान्छेलाई अर्थमन्त्री बनाएपछि गोरु पनि लजाए : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा अर्थमन्त्रीले अनधिकृत व्यक्ति संलग्न गराएको प्रकरणको छानबिन नै नभएको दाबी गरेका छन् ।

मंगलबार तुलसीलाल अमात्यको २५औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यो प्रकरणमा छानबिन नै नभएको बताएका हुन् । उनले यो प्रकरणमा सत्ता गठबन्धनले गोरु पनि लजाउने काम गरेको टिप्पणी गरे ।


‘अचम्म त के भने लाज शरम नमानी नेपाली जनतालाई कति साह्रो हेपेको? नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला? गोरु लजाउनेगरी, गोरु पनि लजायो,’ उनले भने, ‘यति निर्लज्ज तरिकाले फेरि उही मान्छे? यो गठबन्धनसँग अर्को मान्छे पनि रैनछ। कत्रो दम्भ? जे गरे पनि हुन्छ भन्याजस्तो।’

गठबन्धनले जे गरे पनि हुन्छ भनेर उही मान्छेलाई अर्थमन्त्री बनाएको ओलीको आरोप थियो । अध्यक्ष ओलीले कांग्रेसलाई प्रजातान्त्रिक भन्ने गरिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको नाममा पनि प्रजातान्त्रिक नभएको र व्यवहार पनि प्रजातान्त्रिक नभएको तर्क गरे ।

‘छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन । छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सीसीटीभीको रेकर्ड मेटाइएको छ । रिभाइभ गर्दा देखिँदैन, बुझिँदैन अनि सफाइ पायो कि सफाइ पायो । कहाँबाट सफाइ पायो ?,’

उनले भने,‘प्रजातान्त्रिक भनेको के बुर्जुवा भनेको हो? रियाक्सनरी भनेको हो? रियाक्सनरीको पर्यायवाची हो प्रजातान्त्रिक भनेको? त्यसैले नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक हुँ भन्छ भने प्रजातान्त्रिक आचरण देखाओस्।’