गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्रीलाई बाबुरामको आग्रह



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्त गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री देउवासँग भेट गरी भट्टराईले वर्तमान गठबन्धन निर्माणका लागि आफूहरुको सुरुदेखिनै योगदान रहेको भन्दै त्यसलाई नभूल्न आग्रह गरेका हुन् । अर्का अध्यक्ष महिन्द्र राय यादवलाई लिएर प्रधानमन्त्रीसँग भेट गर्न पुगेका भट्टराईले प्रधानमन्त्रीसँग आगामी निर्वाचन र गठबन्धनकाबारेमा छलफल भएको जानकारी दिए ।


भट्टराईले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टी(नेसपा)को पहिलो औपचारिक भेट र समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनवारे सार्थक छलफल ! वर्तमान गठबन्धन निर्माणमा शुरूदेखि नै नेसपा नेताहरूको महत्वपूर्ण योगदान रहेको तथ्यलाई गठबन्धन दल/नेताहरूले नभुल्ने अपेक्षा !’ भेटमा प्रधानमन्त्रीले गठबन्धनमा सहभागी गराउन आफू सकारात्मक रहेको र अन्य दलसँग सल्लाह गरी खबर गर्ने बताएका थिए ।