कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण



कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

दुवै विधेयक कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले साउन २५ गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेकाे प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।


प्रमाणीकरण भएका दुवै ऐनले यहाँका युवा तथा कृषकको व्यवसाय तथा उद्यम प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । दुई विधेयकसहित कर्णालीमा ४१ वटा विधेयक प्रमाणीकरण भएर कानून बनेका छन् । प्रदेशसभाबाट हालसम्म ५१ विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।