एमाले अध्यक्ष ओलीको विश्लेषण : काँग्रेस बन्चरो, माओवादी र एकीकृत समाजवादी त्यसको बिँड



काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेताहरुले कांग्रेसको बिँड बनेर एमाले सरकार ढालेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई इंगित गर्दै उनीहरु कांग्रेसको बिँड बनेको आरोप लगाएका हुन् ।


उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिष्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।

उनले भने, ‘बन्चराले मात्रै रुख ढाल्न सक्दै सक्दैन। घोट्दा पनि हुँदैन, हिर्काउँदा पनि हुँदैन। बन्चरालाई बिँड हाल्नुपर्छ, बिँडचाहिँ काठको हुन्छ। अहिलेका बिँडहरुले एमालेमाथि प्रहार गरे ।’

उनले अहिले राजनीति पनि बिँडजस्तै भएको बताए। उनले भने,’अहिलेको राजनीति त्यस्तै छ। कांग्रेसका बिँड हेर्नुस् त कस्ता छन्। एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँडहरु कस्ता छन् ? के–के नामका छन् ।’

उनले कम्युनिष्टरुपी बिँडहरुलाई सम्झाइ बुझाइ फर्काउनुपर्ने बताए । उनले भने,‘यो गठबन्धनमा माओवादी र माधव नेपालका पछाडि लागेका नेताहरुलाई भन्नुपर्छ बिँड बनेर कांग्रेसको पछाडि लाग्ने कि कम्युनिस्ट पार्टी फर्किने हो भनेर सम्झाउनुपर्छ । म सबै पार्टीका नेता–कार्यकर्ता साथीहरुलाई यो देशको रक्षाका लागि, स्वाधीनता र स्वाभिमानका लागि वामपन्थी भन्ने साथीहरुलाई कांग्रेसको बिँड बनेर कम्युनिस्ट आन्दोलन नढाल्नुस्। आउनुस् फर्किनुस्।’

उनले अझै गठबन्धनलाई नै म्यान्डेट दिने हो भने पाँच वर्षमा देश अस्थिपञ्जरमा परिणत हुने बताए। उनले एमसीसी र एसपीपीका नाममा गठबन्धन सरकारले नेपालमा अन्तर्राष्ट्रिय द्वन्द्व सिर्जना गरेको आरोप लगाए।

अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गरे । विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकीर थियो । ओलीले पार्टी विना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्क गरे ।

उनले भने, ‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । सरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ । ’