उम्मेदवारी दर्ता गरेसँगै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको पदावधि सकिने



काठमाडौँ । उम्मेदवारी दर्ता गरेसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पदावधि सकिने भएको छ । बिहीबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पदावधि उम्मेदवारी दर्ता गरेसँगै सकिने बताएका हुन् ।

उनले यसबारे कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्ने जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिएपछि दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गर्नुपर्ने अवस्था रहेको बताए ।


उनले भने,’आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउनेछ । उम्मेदवारी दिएपछि उनीहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत ढंगले व्याख्या गरेर अगाडि बढाउँछौं ।’

प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन भन्दै उनले आगामी मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर लिखित रूपमा सरकारलाई पठाएको बताए । उनले अब आयोगको एकमात्र अर्जुनदृष्टि मंसिर ४ को मिति रहेको बताए ।

उनले भने, ‘१०७ दिनको समय भएपछि आयोगले आगामी मंसिर ४ को दिनलाई अर्जुनदृष्टि लगाएर आवश्यक तयारी गर्ने छ । आयोगले यसअघि पनि अनौपचारिक तयारी गरेको थियो, अब औपचारिक रुपमा यसैमा केन्द्रित हुने छ। समय अवधिकै रुपमा केही अप्ठ्यारो हुँदैन।’

.उनले यो बीचमा केही ठूला चाडहरु परेकाले समस्या होला कि भन्ने देखिएको छ तर आयोग त्यसबाट प्रभाव नपार्ने गरी तयारी अवस्थामा रहेको बताए।