‘उपभोक्तालाई ठगी गरे कारबाहीमा परिएला’



काठमाडाैँ । तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला ।

गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेँसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको शुभशोप एन्ड केमिकल उद्योग, बालाजुस्थित राजेश हार्डवेयर, काभ्रेपलाञ्चोकको चण्डेश्वरी डेरी फर्म रहेका छन् ।


यस्तै, भक्तपुरको सूर्यविनायकमा रहेको चम्पकेश्वर हार्डवेयर, कालीमाटीमा रहेको एचआर ट्रेड लिङ्क, काठमाडौँको मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज र चारवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी एवम् निरीक्षक निराजन पुडासैनी चालु आर्थिक वर्षमा २८ एकल अनुगमन तथा ९९ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरिएको बताउनुहुन्छ ।

कुन कम्पनीलाई कस्तो जरिवाना माग ?

गुणस्तर तथा नापतौल कार्यालयले काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा रहेको पशुपति आयल स्टोर्सले १० लिटर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा दुई सय ५० मिलीलिटरसम्म घटी बेचेकाले कारबाही गरेको हो । उक्त आयल स्टोर्सलाई वाणिज्य विभागले रु दुई लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

नुवाकोटमा रहेको वनदेवी आयल स्टोर्सले डिजेल तथा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले लगाएको सिल छिनाएर डिजेल तथा पेट्रोल बिक्रीवितरण गरेकाले नापतौल कार्यालयले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा सञ्चालित शुभशोप एन्ड केमिकल उद्योगले नाङ्गो साबुन उत्पादन गरेर बिक्रीवितरण गर्दा उक्त साबुनको तौल तथा लेभल नराखेर बिक्रीवितरण गरेको भन्दै एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । सो उद्योगले तराजुसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको नापतौल कार्यालयले जनाएको छ ।