आफूलाई कीर्तिनिधि विष्टसँग दाँज्दै ओलीले भने -मेरो पनि उहाँकै जसरी प्रधानमन्त्रीको पद गयो



काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समावेश गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

सोमबार पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ पुस्तकको लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्र हितको निर्णय गर्दा आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताएका हुन् ।


उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउन पुगेको बताए । ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेवापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे ।

उनले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको बताए । उनले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहहरुलाई आग्रह गरे ।

उनले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा भएको सम्झौता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए ।

उनले भने, ‘हामी सत्तामुखी, सत्ता जोगाउनका लागि राष्ट्रिय हितलाई तिजाञ्जली दिने खालका गलत अभ्यास गर्न उद्दत हुनु हुँदैन । राष्ट्रिय हितलाई सर्वोपरी राखेर, देशको फाईदाका लागि पद जान्छ भने जाओस् भन्ने कुरालाई ध्यानमा राख्नु पर्दछ । २००८ सालमा मातृकाप्रसाद कोइरालाजी भारत गएर उत्तरी सीमानामा दक्षिणी छिमेकीका १७ वटा सैन्य पोष्टहरु राख्ने सहमति गरेर आउनु भो । त्यो कुरालाई कीर्तिनिधि विष्टले २०२६ सालमा हटाउनु भो । हटाएवापत उहाँको प्रधानमन्त्रीत्व गयो । थाहा थियो उहाँलाई प्रधानमन्त्रीत्व जान्छ भन्ने कुरा । तर उहाँले प्रधानमन्त्रीत्व जाओस् यो ठिक भएन भनेर उत्तरका चेकपोष्टहरु हटाउनु भयो । त्यस्तै नाकाबन्दीका बेला मैले उत्तरतिरबाट पनि ट्रान्सर्पोट, ट्रान्जिट एग्रीमेन्ट गरेँ । उत्तरतिरका पनि नाका खोलेर अब उप्रान्त नेपालमा नाकाबन्दी हुन सक्ने परिस्थिति सृजना गरेँ । मलाइ थाहा थियो–त्यसपछि मैले प्रधानमन्त्रीबाट हटनुपर्छ,हटाईन्छ, त्यो मलाई थाहा थियो । भयो त्यस्तै म फर्केर आएपछि उद्योग सुरु भयो ।’

अध्यक्ष ओलीले पूर्वजहरुले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने बताए ।