अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा अल–कायदा प्रमुखको मृत्यु



अमेरिकी राष्ट्रपति जो बाइडनले अल–कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएकोे पुष्टि गरेका छन् ।

अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगान राजधानी काबुलमा उनी मारिएका हुन् ।


बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताए। यसबाट अब न्याय मिलेको छ यी आतङ्कवादी नेता जीवित नरहेको बताए । अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

उनको परिवारका अन्य सदस्यहरू सँगै भएपनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन् । बाइडनले आफूले ७१ वर्षीय अल–कायदा नेता विरुद्ध लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको बताएका छन् ।

सन् २०११ मा ओसामा बिन–लादेन मारिएपछि जवाहिरीले अल–कायदाको नेतृत्व लिएका थिए । सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन–लादेन र उनले संयुक्त रूपमा बनाएका थिए। उनी अमेरिकाको ‘मस्ट वण्टेड’ आतङ्कवादी खोजी सूचीमा थिए ।

अल–कायदा नेता मारिँदा सन् २००१ को आक्रमणबाट पीडितका परिवारहरूलाई न्याय मिलेको महसुस हुने बाइडनले बताए । जवाहिरी सन् २००० मा १७ अमेरिकी सैनिक मारिने गरी भएको विस्फोट लगायत अन्य हिंसात्मक घटनाका पनि योजनाकार रहेको बाइडनले बताए ।

तालिबानका प्रवक्ताले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय मान्यताको स्पष्ट उल्लङ्घन भनेका छन् । नेत्र चिकित्सक रहेका जवाहिरीले इजिप्टमा इस्लामिक जिहाद सैन्य समूह स्थापनामा सहयोग गरेका थिए। तर अमेरिकी सैनिकबाट सन् २०११ मा बिन–लादेन मारिएपछि उनी अल–कायदाको नेतृत्वमा आए।