अमेरिकाद्वारा श्रीलङ्कालाई तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग



संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ ।

अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलङ्काका बालबालिकालाई लक्षित गर्दछ ।


श्रीलङ्कास्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै श्रीलङ्कालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुनेछ ।’

राजदूत चुङ, श्रीलङ्काका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । यो सहयोग ‘यूएसडीए म्याकगभर्न–डोल इन्टरनेसनल फुड फर एजुकेसन एण्ड चाइल्ड न्युट्रिसन प्रोग्राम’को एक हिस्सा हो ।

भोकमरी कम गरेर साक्षरता र विद्यालय उपस्थिति सुधार गर्न खाद्य असुरक्षितलाई तत्काल आपतकालीन सहायता प्रदान गर्ने उद्देश्यले पाँच वर्षको दुई करोड ६० लाख अमेरिकी डलरको परियोजना हो ।

‘यूएसडीए र यसको साझेदार सेभ द चिल्ड्रेनले श्रीलङ्का सरकार र स्थानीय समुदायसँग मिलेर सबैभन्दा बढी खाँचोमा परेकाहरूलाई खाना पुर्याउन काम गरिरहेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो सहयोगले विश्वव्यापी रूपमा खाद्य सुरक्षा अभियानलाई विस्तार गर्न र जीवन बचाउन र दुःख कम गर्न तत्काल आपतकालीन सहायताको रेकर्ड मात्रा प्रदान गर्न अमेरिकीे प्रयासलाई प्रतिबिम्बित गर्दछ ।’

यसका अतिरिक्त अमेरिकाले यस वर्ष श्रीलङ्कालाई १७ करोड ९० लाख अमेरिकी डलरभन्दा बढी को नयाँ सहायता को घोषणा गरेको छ । जूनयता मात्र करिब तीन करोड २० लाख अमेरिकी डलर नयाँ मानवीय र प्राविधिक सहायता श्रीलङ्का आएको छ ।

यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आसियान क्षेत्रीय मञ्चको सम्मेलनका क्रममा श्रीलङ्काका विदेशमन्त्री अली साबरीलाई नोमपेनमा भेटेका थिए ।

श्रीलङ्कामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित हँुदा देशले गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको छ । कोभिड–१९ को महामारी सुरु भएदेखि नै यहाँको अर्थतन्त्र प्रभावित रहेको छ ।