अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला



अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका विरामी भएको जनाइएको छ । पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका विरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

“हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५०० भन्दा बढी विरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,” अफगानी अधिकारीले भने । सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन् ।


गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यसअघि दुई हप्ता पहिले अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा नौ हजार ५०० विरामी भएका थिए । उनीहरूमध्ये ६६७ जनामा हैजा भएको पुष्टि गरिएको थियो ।