सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको निधन



शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ । तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाले। तर उनले सोभियत सङ्घको विघटन रोक्न सकेनन् ।

उनी सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति प्रदान गर्यो । सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्तो शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्ततः सोभियत सङ्घकै विघटनसम्म पुर्यायो । यद्यपि त्यसले शीतयुद्धको पनि अन्त्य गर्न पनि सहयोग गर्यो । कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोफलाई कहिल्यै माफी दिएनन् ।


गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घका नेता बनेका थिए । त्यतिखेर शक्तिशाली पोलिटब्यूरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए ।

उनका पूर्ववर्ती कन्स्टान्टीन चेर्नेन्को एक वर्षअघि ७३ वर्षको उमेरमा बितेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोफले अमेरिकासँग अस्त्र नियन्त्रणका सहमतिहरू गरेका थिए भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध ओर्लिँदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए ।

पश्चिमा जगत्मा उनलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने आधार निर्माण गर्यो । सन् १९९० मा उनलाई पूर्व–पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेकोमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे ।

त्यसपछि उनको ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा गयो । सन् १९९६ मा उनले एक पटक फेरि राजनीतिक जीवनमा फर्किने विफल प्रयास गरेका थिए। त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उनले केवल शून्य दशमलव पाँच प्रतिशत मत मात्र प्राप्त गरे । अमेरिकाका प्रतिष्ठित कूटनीतिज्ञ हेनरी किसिन्जरले बीबीसीको न्यूजनाइट कार्यक्रमसँग बोल्दै गोर्बाचोफलाई मानवजाति र रुसी जनताको फाइदा हुनेगरी भएका ऐतिहासिक परिवर्तन सुरु गरेको व्यक्तिको रूपमा इतिहासले स्मरण गर्ने बताए ।

गोर्बाचोफको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना व्यक्त गरेको क्रेम्लिनका प्रवक्ताले जनाएका छन् । सोभियत सङ्घ विघटनताका अमेरिकी विदेशमन्त्रीको पदमा रहेका जेम्स बेकरले गोर्बाचोफलाई इतिहासले आफ्नो देशलाई प्रजातन्त्रतर्फ डो¥याएका महान् नेताको रूपमा स्मरण गर्ने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले गोर्बाचोफलाई युरोपेली शान्तिप्रति प्रतिबद्ध व्यक्ति भन्दै उनका कार्यले युरोपको साझा इतिहासनै मोडिएको बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले गोर्बाचोफलाई विरल कोटिका राजनेता अनि सधैँ शान्तिको वकालत गर्ने व्यक्तिको सङ्ज्ञा दिएका छन् । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोफको साहस र इमानको आफू प्रशंसक भएको बताए ।