सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन



काठमाडौँ । सत्ता गठबन्धनले चुनावी तालमेलको साझा  धारणा बनाउने जिम्मेवारी पनि सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै दिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले चुनावी तालमेलको खाकामा साझा धारणा बनाउने जिम्मेवारी कार्यदललाई दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।


‘आजको बैठकमा हामीले कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत गर्‍यौं । नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो,’ उनले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’

बैठकमा कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो । अब छिट्टै कार्यदलको बैठक बस्ने र साझा धारणा तय गर्ने उनले बताए ।