समानुपातिकमा गठबन्धन चाहिँदैन, १५ देखि २० सिट ल्याउँछौंः माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।


उनले क्रान्तिकारी व्यवहारबाट मात्रै जनताको विश्वास जित्न सकिने बताए । नेपालले भने, ‘क्रान्तिकारीहरु आदर्शप्रति कटिवद्ध हुनुपर्छ । कम्युनिस्ट पार्टी हुनका लागि इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्छ । ’ 

उनले आगामी निर्वाचनमा १५ देखि २० सिट जित्न कसैले रोक्न नसक्ने बताए ।

समानुपातिकबाट पनि आफूले हैसियत देखाउनसक्ने उनको भनाइ थियो । उनले भने, ’२७ प्रतिशत उम्मेदवार खडा गर्दा ९ लाख २७ हजार मत पाएका थियौं । शतप्रतिशत उठाएको भए १५ देखि २० लाख मत आउने थियो । चुनावमा समानुपातिक मतका आधारमा पनि हैसियत देखाउन सक्छ । १५ देखि २० सिट आउँछ ।’

पार्टीका सम्मानि नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्टहरुसँग एकता प्रकृया अघि बढाउन आवश्यक रहेको बताए । उनले समाजवाद निर्माणका लागि कम्युनिष्टहरुसँग एकता प्रकृया अघि बढाउनुपर्ने बताए ।

आगामी वर्ष वैचारिक, राजनीतिक, संसदीय संघर्षको क्षेत्रमा ठुलठूला उपलब्धी प्राप्त गर्ने लक्ष्य लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।