काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको कार्यदल बैठकले ‘मोडालिटी’को विषयमा सैद्धान्तिक सहमति गरेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो ।
कार्यदलका सदस्य देव गुरुङले सहमतिको मोडालिटी छिट्टै तयार पारिने बताए । ‘कार्यदलको बैठकमा मुख्यतः सिट बाँडफाँडको विभिन्न मोडालिटीबारे छलफल भयो । मोडालिटी तयार गर्ने विषयमा सैद्धान्तिक सहमति पनि जुटेको छ। त्यसका लागि एकपटक आ-आफ्नो दलभित्र छलफल चलाउने कुरा भएको छ,’ सञ्चारकर्मीसँग उनले भने ।
उनले मोडालिटीको मुख्य आधार संसदमा दलहरुको पोजिशनलाई बनाउन प्रस्ताव आएको बताए । ‘मोडालिटी तयार पार्दा मुख्यतः संसदमा दलको पोजिशनलाई राख्ने कि भन्ने प्रस्तावमा छलफल भएको छ। तर सबै कुरा त्यो लागू नहुनसक्छ,’ उनले भने।
उनले मंसिर ४ गते हुने चुनावका लागि पाँच दलीय गठबन्धन कायम रहनेसमेत बताए। ‘गठबन्धन टुट्ने, भाँडिने खालका कुराहरु पनि हुन्छ। त्यसमा सबै सचेत छौं । आउँदो निर्वाचनमा सहमतिका साथमा तालमेल गरेर अघि बढ्ने कुरामा हामी एकमत छौं,’ उनले भ ने।
कार्यदलको अर्को बैठक साउन ३० गते बस्नेछ ।