शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, बीस जनाको मृत्यु



इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ । दोहोरो झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ । यद्यपि हिंसात्मक गतिविधि रोकिएका छैनन् । यसैबीच, युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ ।


सङ्घले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग अपनाउन आग्रह गरेको छ । उसले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचा भित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि गरेको छ ।

कुर्दिश राजनीतिज्ञ मसुद बरजानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन् । उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिश क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन् ।

छिमेकी देश टर्कीले आफ्ना नागरिकलाई बगदादको भ्रमण नगर्न आग्रह गरेको छ । अङ्काराले इराकमा जारी सङ्कट समाधान गर्न समावेशी वार्ताका लागि आह्वान गरेको छ । इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै टर्कीको विदेश मन्त्रालयले वर्तमान राजनीतिक द्वन्द्व शान्तिपूर्ण र समावेशी वार्ताका माध्यमबाटै समाधान हुने तथा इराकी जनताको शान्ति एवम् भलाई सुनिश्चित हुने बताएको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गर्नुभएको छ ।