विप्लवविरुद्धको पक्राउ पूर्जी फिर्ता लिन एमालेको माग



काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध जारी गरिएको पक्राउ पूर्जी फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले तत्कालीन केपी ओली सरकारले गरेको सम्झैतालाई कार्यान्वयन गर्नका अलवा सरकार फेरि उक्त पार्टीलाई द्वन्द्वतिर फर्काउन उद्दत रहेको टिप्पणी गरेका छन् ।


उनले भने,‘नेकपा माओवादी (विप्लव) समूहलाई थप कारबाही गर्न सरकारले पत्र काटेको छ। हतियार बोकेर सशस्त्र युद्धमा हिँडेको पार्टीलाई तत्कालीन केपी ओली सरकारले तीन बुँदे सहमति गरेर हिंसात्मक बाटो छोडाएर शान्तिपूर्ण बाटोमा ल्याएका थियौं । अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तर अगाडि बढाउनुपर्नेमा यो सरकार अनेक बाहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि त्यही बाटो रोज्न विवश बनाउनका लागि उद्दत भएको छ। यस्तो कामबाट पछि हट्न र उक्त पत्र फिर्ता लिन सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछु।’

उनले नेपालमा हिंसाको बाटो रोज्ने कुनै पनि समूह नभएको दावी गरे। उनले भने, ’तराईको सिके रावत समूहलाई पनि नेपालको राष्ट्रिय राजनीतिक मूलधारमा ल्याइसकेपछि अब हिंसाको बाटो रोज्ने कुनै समूह छैन । नेपालमा सब शान्तिको श्वास लिन पाइन्छ भन्ने नेपाली जनताले अनुभूति गरिरहेको बेला अघिल्ला सरकारले गरेका कामलाई निरन्तर अघि बढाउनुपर्ने बेलामा विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने काम गलत हो।’