वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने



काठमाडाैँ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ भेला सुरु हुँदै छ ।


भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौँ आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा अघि बढ्नेछ ।

बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक सुमन देवकोटाले बताए ।

भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट एक सय ९६, प्रत्येक जिल्लाबाट तीन÷तीन जना गरी दुई सय ५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् ।