लिस्नु कप फुटबलको २० औँ संस्करण भदौ १८ गतेदेखि



रूपन्देही । लिस्नु कप फुटबलको २० औँ संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि रोकिएको लिस्नु कपबारे कोटिहवा माध्यमिक विद्यालयको प्राङ्गणमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार र सेमी फाइनलमा पुगेका अन्य दुई समूहलाई रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक नेमबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु र स्याङजाको वालिङ गरी १६ समूहको सहभागिता रहने आयोजकले जनाएका छन् ।


रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई नगद र मेडलसहित पुरस्कृत गरिने छ । स्थानीय श्रीमाया गुरुङले आफ्ना बुबा स्व डिमबहादुर गुरुङको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।