राष्ट्रपतिले सेना प्रमुखलाई भेट्नु अस्वाभाविक : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाका अधिकारीहरुलाई भेट्नु अस्वाभाविक भएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सेना प्रमुखलाई भेट्नु अस्वाभाविक भएको बताएका हुन् ।


सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ जस्ताको त्यस्तै पास गरेपछि राष्ट्रपति भण्डारी र सेनाका पूर्वप्रमुख र बहालवाला प्रमुखबीच भेट भएको थियो । उनले राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिले अब नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

संसदका दुवै सदनबाट पास भएपछि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक साउन १५ मा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।

राष्ट्रपतिले नागरिकता विधेयक संसदमै फिर्ता पठाएपछि राष्ट्रपति र सत्तारुढ दल बीच सबन्ध चिसिएको छ । यस्तै प्रचण्डले गठबन्धनले भदौ १५ गते भित्र उम्मेदवारको भागबन्डा गरी टुंगो लगाइसक्ने दाबी गरे। उनले भने,‘अहिले हामी गृहकार्यमा छौँ । अब चाँडै नै सहमतिका आधारमा भागबन्डा गरी सक्छौँ ।’