युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन : म्याक्रों



फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिएका छन् । ‘कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नुहुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छ,’ अल्जेरिया भ्रमणका क्रममा म्याक्रोंले भने ।

यसैबीच राष्ट्रपति म्याक्रोंले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउन नसके पनि सम्झौता ‘उपयोगी’ हुने बताएका छन् ।
सम्झौतालाई पुनः जीवित गर्न सफल हुने सम्भावनाबारे सोधिएको प्रश्नमा म्याक्रोंले भने, ‘अब बल इरानको हातमा छ, गोल गर्ने नगर्ने उसमा निर्भर गर्नेछ ।’