मोरङ्गबाट पेस्तोलसहित दुई जना पक्राउ



माेरङ । मोरङ्गको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट आइतबार दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो ।

को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।


आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षीय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको शसस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाएकाे छ।