मुस्ताङमा स्याउ उत्पादन बढ्यो



म्याग्दी । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । 

“यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उनले भने “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग पुगेको हो ।” रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ । स्थानीय जातका स्याउ भने भदौ २५ गतेपछि मात्र टिप्ने किसान प्रतिनिधि, स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनले निर्णय गरेका छन् । 


नपाक्दै काँचो स्याउ बजारमा पु¥याउँदा स्वादिलो नहुने र गुणस्तरमा प्रश्न उठेपछि स्याउ टिप्ने समय तालिका बनाएका हुन् । थासाङ गाउँपालिका–२ कोवाङका वसन्त शेरचनले स्याउमा लाग्ने रोगको सङ्क्रमण नदेखिएको र फल राम्रो लागेको बताए । थासाङ–१ टुकुचेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले व्यापारीले अग्रिम पेश्की दिएर बोटमै स्याउ खरिद गरिसकेका बताए ।  

तुलाचनले कृषि ज्ञान केन्द्रको रु पाँच लाख र व्यक्तिगत १५ लाखमा विसं २०७६ मा १४ रोपनी ११ आना क्षेत्रफल जग्गामा एक हजार बिरुवा उच्च घनत्व प्रविधिको स्याउ खेती गरेका थिए । 

कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा ३८ हेक्टरमा उच्च घनत्व प्रविधिकोसहित कूल एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । छिटो र धेरै उत्पादन दिने भएकाले उच्च घनत्वको स्याउ खेतीमा आकर्षण बढेको छ । यहाँका ५८० हेक्टरमा रहेका बोटले मात्र उत्पादन दिन्छन् ।
उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी पाँच जातका स्याउ बिरुवा रोपिएको छ । गण्डकी प्रदेशको कृषि निर्देशनालयले मुस्ताङमा इटालीबाट आयात गरिएका ९८ हजार ५०० गोटा उच्च घनत्वका स्याउ बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिसकेको छ । 

स्याउ जोन मुस्ताङले १८ हजार ५०० गोटा उच्च प्रविधिको स्याउको बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ । स्याउ भण्डारण गरेर बेमौसममा बजार पठाउन छ वटा चिस्यानगृह बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए । 

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर अग्लो उचाइ भन्दामाथि स्याउखेती गरिन्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । 
 
उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तीर्थयात्रीले स्याउ कोसेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई किसानले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ वटा उद्योग छन् ।