माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चुनाव चिह्र दिनेबारे पछि जानकारी गराइने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

पार्टीले सोमबार आयोगको कार्यालयमा दल दर्ता गराएको हो । दल दर्ताका लागि लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायलगायत नेताहरू आयोगमा पुगेका थिए ।


माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेकाले दुवै दलले छुट्टाछुट्टै निर्णयका लागि गृहकार्य भइरहेको जनाइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच एउटै चुनाव चिह्नमा लड्ने विषयमा सहमतिमा पुगे पनि त्यसलाई दुवै पार्टीबाट अनुमोदन गराउनुपर्ने हुन्छ ।

दुवै पार्टीको मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा एउटै चिह्नबाट चुनाव लड्ने निर्णय अनुमोदन गराएपछि निर्वाचन आयोगलाई जानकारी गराउने माओवादी नेताहरूले बताएका छन् । निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्थामा दुई पार्टीले एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णय गरे त्यसबारे आयोगलाई जानकारी गराउनुपर्ने उल्लेख छ।