महाभियोग सिफारिस समितिले आज प्रधानन्यायाधीशसँग बयान लिँदै



काठमाडौँ । महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ । समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । जबराविरुद्ध गत फागुनमा संसद सचिवालयमा पेस भएको महाभियोग विचाराधीन अवस्थामा छ ।

फागुनमा नै गठन भएको महाभियोग सिफारिस समितिले जबराविरुद्धको महाभियोगमा करिब ६ महिनापछि प्रक्रिया अगाडि बढाएको हो । समितिले केही दिन अगाडि जबराविरुद्ध प्रमाण पेस गर्ने सार्वजनिक सूचना जारी गरेको थियो।


संस्थागत रुपमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, पूर्व न्यायाधीश फोरमले आफूसँग भएको प्रमाण पेस गरेका छन्। व्यक्तिगत रुपमा चार थान प्रमाण इमेलमार्फत् पनि समितिमा दर्ता भएको समितिका सचिव लक्ष्मी गौतमले बताए ।

उनीहरुले विभिन्न मितिमा गरेका फैसला, न्याय परिषद्मा हुँदा गरेको निर्णय र सर्वोच्च अदालतमा रहँदा गरेको कार्यसम्पादनसँग सम्बन्धित रहेका छन्। समितिले केही दिनअघि जबराविरुद्ध महाभियोग पुष्टि हुने प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।