बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न नागरिकता विधेयकः गृहमन्त्री



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै विधेयक ल्याइएको बताए ।


गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए ।

उनले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको बताए । उनले विधेयकमा महिलाहरुको स्वाभिमानमाथि चोट पुर्याउने खालको कुनै पनि प्रावधान नभएको बताए ।

उनले भने, ‘यो नागरिकता विधेयकलाई चाहिँ हामीले ल्याएको सन्ततिको नागरिकता नभएर हो । यस्तो लाखौंमा छन् । यिनको समस्या के भो भन्दाखेरी यिनले नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु पर्यो । यिनले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन् । अब लोक सेवा आयोग र सरकारी संस्थाहरुमा प्रतिस्पर्धाका लागि फारम पनि भर्न पाएनन् नागरिकता नभएपछि । अब कुनै बैंकमा खाता खोल्न नागरिकता पनि पाएनन् । एटीम पनि नपाउने भए । मोवाइलको सिमकार्ड पनि किन्न पाएनन् । सामाजिक सेवाका लागि संघ, संस्था दर्ता गर्नका लागि पनि नागरिकता चाहियो । अब आफनो क्षमता र सामथ्र्य अनुसार केही उद्योगधन्दा खोलौं, कृषि फर्महरु खोलौं भन्दा पनि नागरिकता छैन । संविधानको व्यवस्थाका लागि हामीले विधेयकमा यो व्यवस्था ल्याएको हो ।’

मन्त्री खाँणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे ।