बन्ने भो राप्ती कोरिडोर



दाङ । सङ्घीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा साेमबार एक कार्यक्रमबीच ‘राप्ती कोरिडोर’ आयोजनाको शिलान्यास गरेका छन् ।

करिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताए । उनले दाङ प्रशस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको अरू पक्षलाई पनि जोड्ने सकिने धारणा राखे ।


राप्ती कोरिडोरअन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास (तटबन्ध) गरी बृहत् योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताए । ‘भालुवाङबाट सुरु भएर करिब ८७ किलोमिटर लम्बाइको राप्ती नदीको दुवैतर्फ कालोपत्र गरिनेछ । नदी उकास गरी नयाँ सहर बसाल्न सकिने छ भने सुन्दर उद्यान निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ”, उनले भने ।

राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ बिघा जमिन प्रयोगमा आउने छ । बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भइसकेको उनको भनाइ छ ।