प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा



जनकपुरधाम । प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै मधेश प्रदेश सरकार आजदेखि संघीय सरकार विरूद्ध आन्दोलनमा उत्रेको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकारका मन्त्रीहरू र प्रदेशसभा सदस्यहरू प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् ।

आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म ७ दिने अल्टिमेटम सहित प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा निर्माण गरिएको पण्डालमा मन्त्रीहरु धर्नामा बसेका हुन् ।


संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री राउतले आफूहरु संघीयताको सफल कार्यान्वयनका लागि संवैधानिक व्यवस्था अनुसार प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित धर्नामा बसेको बताए । उनले प्रहरी प्रशासन सहित विभिन्न अधिकारहरु प्रदेश सरकारलाई नदिएसम्म संघीयताको सफल कार्यान्वयन हुन नसक्ने बताए ।

सर्वदलीय आन्दोलन भनिएपनि प्रतिपक्षी दलका प्रतिनिधि धर्नामा नरहेको बारे मुख्यमन्त्री राउतले भने, ‘सभामुखज्युको संयोजकत्वमा बसेको बैठकबाट सबै दलको सहमतिमा आन्दोलनको निर्णय गरिएको हो, तर उहाँहरू के कति कारणले सहभागी हुनुभएन, थाहा छैन ।’

धर्ना कार्यक्रममा मुख्यमन्त्री राउत सहित गृह तथा संचार मन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, कानुन मन्त्री प्रमोद यादव, गृह तथा संचार राज्यमन्त्री रुवी कर्ण, प्रदेश सभा सदस्यहरु शैलेन्द्र यादव, चमेलीदेवी दास, सरस्वती चौधरी, प्रमीलादेवी दास लगायतका सभागिता रहेको छ ।