पशुपतिनाथ मन्दिर मन्दिर परिसरमा तस्वीर खिच्नेलाई रु दुई हजार एक सयसम्म जरिवाना



काठमाडाैँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्वीर खिचेमा नगद जरिवाना सुरु गरिएकोे छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्वीर खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको कोषले जनाएको छ । सनातनदेखि तस्वीर खिच्न मनाही गरिएको स्थानको तस्वीर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो नियम लागू गरेको हो ।


गर्भगृहको तस्वीर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्वीर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्वीर खिचेमा रु पाँच सय जरिवाना गर्न थालिएको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्वीर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले बताए ।