निर्वाचन केन्द्रीत नेकपा समाजवादी काठमाडौँको भेला हुने



काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको यही भदौ ४ गते काठमाडौँमा भेला हुने भएको छ ।

उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचान गरिने कमिटीका सचिवालय सचिव कृतु भण्डारीले जानकारी दिइन् ।


पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लाअन्तर्गत रहेका वडा, नगर, प्रदेश तथा केन्द्रीय निर्वाचन क्षेत्रमा उम्मेदवारको छनोटको कार्यविधि तयार गर्ने छ । साथै पाँच दलीय गठबन्धनमा भएका कमी कमजोरीको समिक्षा गर्नेछ ।

चुनाव प्रचारप्रसारको तयारी तथा सम्बन्धित नेता तथा कार्यकर्तालाई आवश्यक जिम्मेवारी प्रदान गर्ने विषयमा समेत भेला केन्द्रित हुनेछ । केन्द्रले तोकेको उम्मेदवारको मापदण्डअनुसार साङ्गठनिक गतिविधिमा क्रियाशीलका साथै त्यस क्षेत्रमा रहेका व्यक्तिको लोकप्रियतका आधारमा जिल्लाले केन्द्रमा उम्मेदवारको नामावली सिफारिसका लागि रणनीति तयार गरिने छ । सङ्घीय संसद्अन्तर्गत काठमाडौँमा १० प्रतिनिधिसभा सदस्य तथा २० प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ ।