दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा अकालमा ९५ जनाको ज्यान गयो



दाङ । गत वर्ष कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए ।

गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा३प २९१२ नम्बरको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेश केसी र मोटरसाइकलमा सवार घोराही–७ कै ४४ वर्षीया गङ्गा कँवरको घटनास्थलमा मृत्यु भयो ।


मोटरसाइकल चालक र अन्य दुईजना साइकल गम्भीर घाइते भए । यी दुइवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुको कारण मापसे गरी तीव्र गति सवारी चलाउनु नै रहेको देखाएको छ ।

वास्तवमा यी त उदाहरण मात्र हुन् । जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । अब यस्ता दुर्घटना नदोहोरिन दिन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वयन गरी दुर्घटना न्यूनीकरणमा चासो दिन थालेको छ ।

सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । सडक वारपार गर्ने पैदलयात्रुलाई सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क चेकजाँच, बजारमा जेब्रा क्रसिङसमेत बनाएको छ तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

दाङमा गएको आर्थिक वर्ष २०७८/०७९ मा दुई सय तीन सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी एक सय ९५ गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई सय ८२ सवारी साधन संलग्न रहेका छन् । तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल एक सय ३८, बस २७, ट्र्याक्टर १६, जीप तथा कार ३२ रहेका छन् ।

त्यस्तै टेम्पो तथा अटोरिक्सा १८, ट्रक १७, टिपर १२, माइक्रोबस दुई, साइकल १९, डोजर १२ वटा रहेका छन् । दुर्घटनाको अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गतिबाट एक सय ४४, मादक पदार्थ सेवन गरी गाडी चलाउँदा २३, चालकको लापर्बाहीबाट १५, यात्रुगल्ती चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गडबडी सात, उछिन्दा दुई, मौसमका कारण एक रहेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा २७९ वटा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजालले दुर्घटना न्यूनीकरणका लागि चालक गम्भीर बन्नुपर्ने बताउछन् । उनले जिल्लामा धेरै दुर्घटना चालकको लापर्बाहीका कारण हुने गरेको भन्दै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे । रिजालले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्रगतिमा गाडी चलाउने र आफ्ना सवारी साधन दुरुस्त अवस्था नराख्नेलगायतका कारणले दुर्घटना बढिरहेको बताए ।

त्यसैगरी ज्येष्ठ नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडीधनी एकजुट हुनुपर्ने बताए । उनले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गर्नुपर्ने बताए । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । उनले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्ने बताए । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुनेसमेत उनको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झवीन्द्र परियारले तीव्र गतीमा गाडी चलाउनु, सवारी साधन चुस्त दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसेलगायतका कारणले दुर्घटना बढेको भन्दै यस्ता क्रियाकलाप नियन्त्राणका लागि आफू गम्भीररूपमा लागिरहेको बताउ । उनले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक तथा सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको जानकारी दिए ।

एक वर्षमा दुई करोड ६३ लाख राजस्व सङ्कलन ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम पालना नगर्ने ४२ हजार चार सय तीन वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ । उक्त सवारी साधनलाई कारबाही गर्दा रु दुई करोड ६३ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा १५ हजार ९६ मोटरसाइकल कारबाहीमा परेका छन् ।