दक्षिण कोरियामा बर्षाका कारण नौ जनाको मृत्यु, सात बेपत्ता



दक्षिण कोरियामा अत्यधिक बर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् । बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार दिउसो ४.२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो । बर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न आश्रय स्थलहरुमा लगेर राखिएको छ ।


अहिले दक्षिण कोरियामा देशभरी गरेर कूल एक हजार २५३ जना बर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७२४ घरका हुन् । बर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारी साधन डुवानमा परेका छन् । बर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरूलाई पनि प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ ।