चोलेन्द्रको आरोप : बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग न्यायाधीश पद मागे



काठमाडौँ । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाएका छन् । नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश पद मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको जबराले आरोप लगाएका हुन् । 

बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयानका क्रममा उनले तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र  महासचिव  लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका हुन् । 


‘नेपाल बारको तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठले उच्च अदालतमा न्यायाधीश माग्नुभएको थियो । बारको तत्कालीन महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश माग्नुभएको थियो,’ जबराले थपे, ‘तत्कालीन महासचिव न त वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । त्यसैले हुन्न भनेको हो । उहाँले मेरो च्याम्बरमा आएरै उच्च अदालतको मुख्य न्यायाधीश माग्नुभएको हो ।’

त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शक्यले मुद्दाबारे चासो राखेको जबराको भनाइ थियो । ‘सर्वोच्च बारका अध्यक्ष प्राध्यापक पनि हुनुहुन्छ । उहाँले आफ्ना मुद्दाबारे कुरा गर्नुभएको थियो,’ जबराले भने, ‘बारका पदाधिकारीहरू सिद्धान्त र नैतिकताका आधारमा आन्दोलनमा गएका होइनन् ।’