चीनको चिङ्हाई प्रान्तमा बाढीमा परी १७ जनाको मृत्यु



चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार साँझको बाढीबाट अरु १७ जना हराइरहेका छन् । हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भएपनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन् ।

धेरै माटो बोकेर आएको बाढीले नदीको वहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरुले जनाएका छन् । बाढीबाट छ गाउँका छ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । ती मध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ । बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सय भन्दा बढी मानिस विस्थापित भएका छन् ।


उनीहरुका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । सेना प्रहरी र उद्धारकर्मीहरु गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरुले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।

यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँका छ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरुलाई विद्यालयहरुमा आश्रय दिएर राखिएको छ । वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्नका लागि सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ ।