चितुवा आतङ्कपछि फलामे खोर



तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ चितुवाले आक्रमण गरी तीन वर्षीय बालक शुलभ परियारलाई सख्त घाइते बनाएपछि स्थानीयवासीमा त्रास पैदा भएको छ । चितुवाले उक्त क्षेत्रमा पटकपटक पशु र मानिसमा आक्रमण गरी घाइते बनाउन थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । चितुवा गाउँका घरघरमा हिँड्न थालेपछि बन्दीपुरवासी डरले साँझ परेपछि घर बाहिर निस्कन सकिरहेका छैनन् ।

बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढेकाले सरक्षित रुपमा बस्न आग्रह गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । बालबालिकालाई घर बाहिर निस्कन नदिन र गाउँमा चितुवा देखिएमा तुरुन्त सम्पर्क गर्न जानकारी गराइएको उनले बताए ।


स्थानीय गोजे सामुदायिक वनमा चितुवाका लागि पासो थाप्न यसअघि तीन वटा खोर राखिए पनि आज पुनःएक खोर थप गरिएको उनले जानकारी दिए । चारवटै खोर फलामको रहेकाले चितुवा पासोमा नपरेको भन्दै काठको खोर बनाएर राख्न गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी चितुवा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी स्थानीयवासीलाई सुरक्षाको अनुभूति गराउने कार्य गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । खोरमा बाख्रा र कुकुरसहित राखेर कसरी चितुवालाई नियन्त्रणमा लिन सकिन्छ भन्ने सोचका साथ काम अघि बढाइएको उनले बताए ।

त्रसित स्थानीयवासीमा सुरक्षाको अनुभूति गराउने उद्येश्यले जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा सुरक्षागस्ती खटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरुपमा गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । सुरक्षागस्तीसहित उक्त सामुदायिक वन क्षेत्रमा चितुवालाई पासो थाप्नका लागि खोर राखिएकोसमेत उनले बताए ।

बुधबार साँझ करिब ५ बजेको समयमा सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारमाथि चितुवाले आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेको समयमा चितुवाले बालकलाई आक्रमण गरी लगेको स्थानीय वासु पन्थले जानकारी दिए ।

चितुवाले घरदेखि करिब ५० मिटर टाढा पु¥याएको अवस्थामा आमा लक्ष्मीले चितुवाको मुखबाट छोरा खोसेर बचाउन सफल भएकी छन् । बालकको घाँटी तथा शरीरका अन्य भागमा गहिरो चोट लागेकाले स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बालकको स्वास्थ्यमा क्रमिक सुधार हँुदै गएको आमा लक्ष्मीले बताइन् ।

केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो भने एक बालिकासहित दुई जना चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा हालसम्म एक दर्जन बढी बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् । चितुवाको आक्रमणमा परी घाइते भएका बालकको उपचारका लागि बन्दीपुर गाउँपालिका कार्यालयले रु तीस हजार सहयोग गरेको छ ।