चिकित्सकको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै कारबाहीको माग



काठमाडाैँ । पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ । मृतकका बुबा जुमन अन्सारीले यहाँ आज पत्रकार सम्मेलन गरी वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन् ।

फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको मृतकका बुबा अन्सारीले बताए । फिरोजलाई पत्थरी भएको भन्दै गत साउन २७ गते डा आसिफ अन्सारीको टोलीले शल्यक्रिया गर्दाको गल्ती नै छोराको मृत्युका कारण भएको अन्सारीको दाबी छ । उनले भने, “बाबुको शल्यक्रिया गरेको केही घण्टामा नै दुखाइ सुरु भयो, हामीले डाक्टरलाई भन्यौँ, उहाँले केही हुँदैन भन्नुभयो र फेरि साउन २८ गते दोस्रोपटक शल्यक्रिया गर्नुभयो ।”


उनले दोस्रो शल्यक्रियापछि छोरालाई भेन्टिलेटरमा राखेको र साउन २९ गते डा आसिफ अन्सारीले त्यहाँ निको नहुने भनेपछि हेलिकप्टर चार्टर्ड गरेर ललितपुरको मेडिसिटी अस्पताल ल्याएको जानकारी दिए । मेडिसिटी अस्पतालमा उपचारका क्रममा फिरोजको यही भदौ ५ गते राति ८ बजे मृत्यु भएको भन्दै उहाँले सुरुको उपचारमै गल्ती भएको दाबी गरे । शल्यक्रिया गर्ने बेलामा डाक्टरले तीन वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारको आरोप छ । अ

स्पताल सञ्चालक डा अब्दुल हैज अन्सारी र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीलाई कानूनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाहीको मागसमेत गरिएको छ ।