केन्यासँग नेपाल पराजित



काठमाडौँ । केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय १४ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र मोहम्मद आदिल आलमले समान २०/२० रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३२ रन बनायो । केन्याका लागि निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रनाए ।


बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन÷तीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारे । केन्याले आजको खेल जितेसँगै पाँच खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । पहिलो टी–२० नेपालले पाँच विकेटले जितेको थियो । नेपाल र केन्याले पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् ।