आन्दोलनरत कर्मचारीले गरे देशभर सामुदायिक विद्यालय बन्द



काठमाडौँ । आइतबार नेपाल विद्यालय कर्मचारी परिषदले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । परिषदले विभिन्न जिल्लामा तालाबन्दी गर्ने क्रम जारी रहेको जनाएको छ ।

विद्यालय प्रशासनले अटेरी गर्दै विद्यालय खोलेको पाइएको त्यसबाट हुने क्षतिको स्वयम् विद्यालय प्रशासन नै जिम्मेवार हुनुपर्ने उनीहरूको चेतावनी छ । 


परिषदले उपत्यकाका विद्यालय बन्द गर्नको लागि ४१ सदस्यीय समिति समेत गठन गरेको छ । ताला लगाउन बाँकी विद्यालयमा पनि ताला लगाउने क्रम जारी रहेको छ । ताला लगाउँदा त्यसबाट सिर्जना हुने समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने परिषदको भनाइ छ ।

भदौ १ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएर आन्दोलनको सुरुवात गरेका थिए । पछि उनीहरूले माइतीघर मण्डलामा धर्ना दिदैं आएका थिए । धर्ना दिने क्रममा उनीहरूलाई शिक्षा देवेन्द्र पौडेलले छलफलका लागि बोलाएका थिए । तर, अनौपचारिक रूपमा भएको छलफलमा कुनै निर्णय हुन सकेको थिएन ।