हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ



नेपालगन्ज । प्रहरी हिरासातमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।


शुक्रबार बिहान दुई बजे असई चौलागाईंले सोधपुछ गर्नु छ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । प्रवक्ता न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् । घटनाबारे बुझ्न बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी कोहलपुर इलाका प्रहरी पुगेका छन् ।