सुरक्षा क्षेत्र तोडेर इराकमा प्रदर्शनकारी संसद् भवनमा प्रवेश



इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो । प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।


प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो । यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्वपूर्ण भवनहरू छन् ।

सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केहीबेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा एएफपीले जनाएको छ ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन् । भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो ।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन । इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो ।

सन् २०१९ मा पनि इराकमा भ्रष्ट्राचार, बेरोजगारी र सार्वजनिक सेवाको बेतिथिबारे ठूलो प्रदर्शन भएको थियो । ह्युमन राइट्स वाचका अनुसार उक्त प्रदर्शनमा सुरक्षाकर्मीले सयौँको हत्या गरेका थिए।