इस्लामाबाद । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।
राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् ।
आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए । गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।