सिन्ध प्रान्तका पचासभन्दा बढी गाउँ डुबे



प्रान्तका विभिन्न भागमा आएको बाढीले ५० भन्दाबढी गाउँ डुबाएको छ । बलुचिस्तानमा मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा कम्बर–शाहदादकोट जिल्ला र दादु जिल्लाको कछोको पहाडी क्षेत्रमा व्यापक क्षति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढी प्रभावित क्षेत्रका बासिन्दा ज्यान जोगाउन उच्चस्थल र सुरक्षा केन्द्रमा शरण लिन बाध्य भएका छन् । एकजना ७० वर्षीयाको बाढीका कारण उपचार नपाउँदा ज्यान गएको छ । विशेष गरी बलुचिस्तानमा यस वर्ष अप्रत्याशित रूपमा भारी वर्षा भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार वर्षा र बाढीका कारण बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भएको छ ।


बितेका २४ घण्टामा बलुचिस्तानमा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सातजना बालबालिका र एक महिलाको ज्यान गएको समाचारपत्र डनले जनाएको छ । खैबर पख्तुनख्वामा बाढी आएसँगै केही घरका छत भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको र १७ जना घाइते भएका छन् । बाढीले एकसयभन्दा बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

पेशावर, स्वाबी, चारसड्डा, साङ्ला, खैबर, डेरा इस्माइल खान र बाजौर सबैभन्दा बढी प्रभावित छन् । बाढीले जारा र तबिना नामका दुई बाँध पनि भत्काएको छ । यसैगरी, लस्बेला र खुजदारमा दुई प्रान्त जोड्ने पुल र सडकमा क्षति भएपछि सिन्धसँग बलुचिस्तानको सडक सम्पर्क पूर्ण रूपमा बन्द भएको छ । क्वेटा–कराची राजमार्गमा ठूला पुल भत्किँदा यातायात सेवा अवरूद्ध भएको छ ।